सरकारले आर्थिक वर्ष ०७८/७९ मा रू. १० अर्ब ३५ करोड ३० लाख ५३ हजार पूँजीगत लाभकर संकलन गरेको छ । धितोपत्र दोस्रो बजारका लगानीकर्ताहरूले नाफा कमाएवापत् उक्त लाभकर सरकारलाई बुझाएका हुन ।
धितोपत्र कारोबारको राफराफ कार्य गर्दै आएको सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससीले ) ले आर्थिक वर्ष ०७८/७९ मा सरकारले उक्त पूँजीगत लाभकर संकलन गरेको जानकारी दिएको हो । गत आर्थिक वर्षमै धितोपत्र दोस्रो बजारले ऐतिहासिक रेकर्ड कायम गरेको थियो । भदौ २ गते नेप्सेले ऐतिहासिक विन्दु कायम गरेको थियो भने सोही दिन हालसम्मकै सर्वाधिक रकमको धितोपत्र खरीदविक्री भएको थियो ।
उक्त दिन नेप्से परिसूचक हालसम्मकै उच्च ३ हजार १९८ दशमलव ६० विन्दुमा बन्द भएको थियो । सो दिन हालसम्मकै उच्च रू. २१ अर्ब ६४ करोड ७६ लाख बराबरको धितोपत्र खरीद विक्री भएको थियो । धितोपत्र दोस्रो बजारले ऐतिहासिक रेकर्ड कायम गरेको दिन कुल बजारपूँजीकरण रू. ४४ खर्ब ६८ अर्ब ५० करोड ५३ लाख कायम भएको थियो ।
गत आर्थिक वर्षको तथ्याङ्कलाई हेर्दा साउन महिनामा सबैभन्दा बढी पूँजीगत लाभकर सकलन भएको छ । साउन महिनामा सरकारले रू. ३ अर्ब २४ करोड ६९ लाखभन्दा बढी पूँजीगत लाभकर संकलन गरेको हो । नेप्सेले ऐतिहासिक रेकर्ड कायम गरेको भदौ महिनामा भने सरकारले रू. २ अर्ब ६१ करोड ८६ लाखभन्दा बढी यो कर संकलन गरेको छ । पछिल्लो समय बजार घट्दै जाँदा त्यसको असर कर संकलनमा पनि परेको देखिन्छ ।
भदौ महिनाको तुलनामा असोज महिनामा रू. २ अर्ब ६ करोडले पूँजीगत लाभकर कम भएको देखिन्छ । असोज महिनामा रू. ५४ करोड ९७ लाख २५ हजार मात्र पूँजीगत लाभकर संकलन भएको देखिन्छ । गत आर्थिक वर्षको अन्तिम महिना असारमा भने रू. २४ करोड ४९ लाखभन्दा बढी मात्र पूँजीगत लाभकर संकलन भएको सिडिएससीको भनाई छ ।
सरकारले धितोपत्र दोस्रो बजारका लगानीकर्ताहरूबाट नाफा कमाएको खण्डमा १० प्रतिशतसम्म पूँजीगत लाभकर संकलन गर्दै आएको छ । संस्थागत लगानीकर्ताहरूबाट १० प्रतिशत र व्यक्तिगत लगानीकर्ताहरूबाट बढीमा ७ दशमलव ५ प्रतिशत पूँजीगत लाभकर संकलन गर्दै आएको हो । गत आर्थिक वर्षदेखि धितोपत्र बजारका व्यक्तिगत लगानीकर्ताहरूका लागि दुई प्रकारको पूँजीगत लाभकरको व्यवस्था गरिएको छ ।
एक वर्षभन्दा बढी शेयर कायम गर्ने लगानीकर्ताहरूलाई दिर्घकालिन र एक वर्षभन्दा कम शेयर कायम गर्ने लगानीकर्ताहरूलाई अल्पकालिन लगानीकर्ताको रुपमा विभाजन गर्दै सरकारले अल्कालिनका लागि ७ दशमलव ५ प्रतिशत र दिर्घकालिनका लागि ५ प्रतिशत पूँजीगत लाभकरको व्यवस्था गरेको हो । धितोपत्र लगानीकर्ताहरुले भारित औषत लागतका आधारमा पूँजीगत लाभकर तिर्नुपर्र्ने व्यवस्था रहेको छ ।