गभर्नर महाप्रसाद अधिकारी विवादमा छन् । नेकपा एमालेको अर्थत तथा योजना समितिमा रहेको एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नै भएको भन्दै अहिले सडकदेखि सदनसम्म उनको राजीनामा माग भइरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गभर्नर अधिकारीलाई बालुवाटारमै बोलाएर राजीनमा माग गरेको विषय पनि सार्वजनिक भएको छ । सडकदेखि सदनसम्म सरकारमा रहेको दल माओवादी केन्द्रले उनको राजीनामा र छानबिनको माग गरिरहेको छ ।
प्रधानमन्त्री देउवाले बिहीबारको बैठकमा गभर्नरसँग छलफल गर्दै राजीनामा मागेको बालुवाटार स्रोतको भनाइ छ ।
प्रधानमन्त्री देउवाले गभर्नर अधिकारीलाई राजीनामा नदिए सरकारले अन्य विकल्प अपनाउने चेतावनी दिएको पनि बुझिएको छ । स्रोतका अनुसार मौद्रिक नीति साउन १ गते ल्याउने तयारी छ । साउन एक गतेपछि गभर्नर अधिकारी विदामा बस्न सक्ने स्रोतको दाबी छ ।
प्रधानमन्त्री देउवाले शुक्रबार बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकमा गभर्नरले राजीनामा दिनु पर्ने धारणा राखेको पनि बुझिएको छ । गभर्नर अधिकारीले नैतिक रुपमा पनि राजीनामा दिनुपर्ने धारणा बैठकमा राखेका थिए ।