Breaking News

पुल बीमा प्रणाली खारेज : अब सबै जीवन बीमा कम्पनीले म्यादी बीमालेख जारी गर्न सक्ने

Jul Thu 2022 11:13:46

678 views

पुल  बीमा प्रणाली खारेज : अब सबै जीवन बीमा कम्पनीले म्यादी बीमालेख जारी गर्न सक्ने

अबदेखि वैदेशिक रोजगार म्यादी जीवन बीमालेख सबै जीवन बीमा कम्पनीले जारी गर्न पाउने भएका छन् । बीमा समितिले ‘वैदेशिक रोजगार म्यादी जीवन बीमालेख पुल सम्बन्धी कार्यविधि’ खारेज गर्ने निर्णय गरेसँगै इच्छुक कम्पनीले बीमालेख जारी गर्न सक्ने भएका हुन् ।बीमा समितिले म्यादी जीवन बीमामा अस्वस्थ प्रतिस्पर्धा भएको भन्दै पुल प्रणाली लागू गर्न निर्देशन दिएको थियो । जीवन बीमा व्यवसाय गर्ने जीवन बीमा कम्पनीहरूबाट प्राप्त कार्यविधि बोजिम वैदेशिक रोजगार म्यादी जीवन बीमालाई व्यवस्थित रूपमा संचालन गर्नका लागि पुल प्रणाली लागू भएको थियो ।

सोही व्यवस्था बमोजिम कम्पनीहरूको सहमति अनुसार पुल प्रणालीमार्फत बीमालेख जारी हुँदै आएको छ । बीमा कम्पनीहरूले २०७५ माघ १ गतेदेखि पुलमार्फत बैदेशिक रोजगार म्यादी जीवन बीमा जारी गर्दै आएका छन् । समितिले म्यादी बीमामा पुल प्रणाली साउन १ गतेदेखि खारेज गर्ने निर्णय गरेको हो ।

समितिले साउन १ गतेदेखि इच्छुक सबै जीवन बीमा कम्पनीहरूले वैदेशिक रोजगार म्यादी जीवन बीमालेख जारी गर्न सक्ने व्यवस्था गरेको हो । तर, कम्पनीहरूले यस्तो बीमालेख अनलाइन माध्यमबाट मात्र जारी गर्न पाउनेछन् ।

साउन १ गतेदेखि लागु हुने गरी वैदेशिक रोजगार म्यादी जीवन बीमा पुलबाट नयाँ बीमालेख जारी नगर्ने र यसअघि जारी भएका सम्पूर्ण बीमालेखहरूको दायित्व समाप्त भएपश्चात पुल स्वतः खारेज हुने समितिले जनाएको छ ।

यसरी अनलाइन माध्यमबाट बीमालेख जारी गर्दा कम्पनीहरूले भुक्तानी सेवा प्रदायकलाई उपलब्ध गराउने सेवा शुल्क वापतको रकम अन्य बीमालेख अनलाइनमार्फत जारी गर्दा लाग्ने शुल्क भन्दा बढी तोक्न पाउने छैनन् । साथै, भुक्तानी सेवा शुल्क वापतको रकम निर्धारित बीमाशुल्कमा समावेश गर्न नपाइने समितिले बताएको छ ।

समितिकाअनुसार वैदेशिक रोजगार म्यादी जीवन बीमा व्यवसाय सुरू गर्नुअघि समितिलाई जानकारी दिनुपर्ने छ । र, व्यवसाय बन्द गर्नुपरे पनि सोको कारणसहित समितिमा जानकारी गराउनुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?